Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

युवाहरूको विदेश पलायन रोकेर देशभित्रकै स्रोतसाधनले आत्मनिर्भर हुन सक्नुपर्ने

युवाहरूको विदेश पलायन रोकेर देशभित्रकै स्रोतसाधनले आत्मनिर्भर हुन सक्नुपर्ने

2026-06-12

त्रिवि एलुम्नाई एशोसिएशन नेपालका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले नेपाली युवाहरूको विदेश पलायन रोकेर देशभित्रकै स्रोतसाधनले आत्मनिर्भर हुन सक्नुपर्ने धारण व्यक्त गर्नुभएको छ । त्रिविको शैक्षिक अनुसन्धान र विकास केन्द्र (सेरिड) को आयोजनामा शुक्रवार त्रिवि स्मृति भवनमा आयोजित नेपालको अन्वेशण र विकासमार्फत नेपालको उच्च शिक्षामा पुनःर्संरचनाका लागि उच्च शिक्षा र उद्योगहरूबीच सिकाई समन्वय, अन्वेशण र रोजगारीको क्षमता विषयक राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्नुहुँदै श्रेष्ठले यस्तो धारणा व्यक्त गर्नुभएको हो । एक सफल उद्यमीको पहिचान बनाउनु भएका श्रेष्ठले विदेशमा जाँदा विकसित देशहरूले नेपाललाई गरिब मुलुक भन्ने गरेको स्मरण गर्नुहुँदै आफुलाई नेपाल कहिल्यै गरिब नभएको अनुभुति हुने बताउनु भयो । 


आज नेपाली युवाहरू विदेशिनुको प्रमुख कारण देशभित्र रोजगारीका अवसरहरू सिजर्ना गर्न नसक्नु रहेको उल्लेख गर्नुहुँदै उहाँले थुप्रै अवसर र चुनौतीहरूका बीच देशलाई अगाडि लैजानु पर्ने आवश्यकता आफुले देखेको बताउनु भयो । देशमा स्थीरता नहुँदा हामी आफु कमजोर भएको कारण विदेशी हस्तक्षेप हुने गरेको हाम्रो देशको अवस्था विविध कारणले गरिब भनियो, बनाइयो र भयो । त्यसैले गरिब भएर जन्मनु दोष नभएर गरिब भएरै मर्नु चाहिँ दोष रहेको चर्चा गर्नुहुँदै श्रेष्ठले बाँचुञ्जेल थुप्रै अवसरहरू सिर्जना हुने र त्यसलाई आफुले लिनसक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । धन चोरिएर जान सक्ने तर ज्ञान कहिल्यै कसैले चोर्न नसक्ने भएकोले सीप र ज्ञान उत्पादन गर्ने विश्वविद्यालयहरूले सीपमुलक शिक्षा दिन सक्ने पाठ्यक्रम निर्माण गर्न उहाँले सूझाव दिनुभयो । विश्वविद्यालयले पनि आफ्नै स्रोत साधनको अधिकतम् प्रयोग गरेर आत्मनिर्भर हुन सक्ने पर्ने बताउनुहुँदै उहाँले अहिले देशको आर्थिक वृद्धिलाई ६–७ प्रतिशत पु¥याउन कुनै समस्या नहुने गरी सबैले काम गर्न सकिने धारणा व्यक्त गर्नुभयो । बजारमुखी पाठ्यक्रम निर्माण गर्न उद्यमीहरूसँग विश्वविद्यालयले सहकार्य गर्न सक्ने धारणा व्यक्त गर्नूहुँदै उहाँले बजारमा रोजगारीका अवसर सिर्जना गर्न सबैले सबै क्षेत्रमा लाग्नुपर्ने बताउनु भयो । विश्वमा नेपाल गरिब मुलुकम मात्र नभएर प्राकृतिक स्रोत र साधनले धनी मुलुक पनि भएको बताउनु हुँदै उहाँले नेपाललाई उच्च शिक्षाको शैक्षिक उत्कृष्टताको केन्द्र (एजुकेशनल हव) बनाउन सबैले प्रयास गर्नुपर्ने र त्यसको लागि विश्वविद्यालयका एलुम्नाईहरूले साथ सहयोग गर्न सक्ने धारणा समेत उहाँले व्यक्त गर्नुभयो । त्रिविले एलुम्नाई एशोसिएशन बनाएर नेटवर्किङ शुरु गरिसकेको हुँदा सबैले साथ सहयोग गरेर संस्थागत तरिकाले विश्वविद्यालयलाई उत्कृष्ट बनाउन सहयोग गर्न उहाँले आव्हान समेत गर्नुभयो । अरुसँग मागेर मात्र देश बनाउने सोच्नु नहुने धारणा राख्नुहुँदै अध्यक्ष श्रेष्ठले आफुले व्यक्तिगत स्वार्थका लागि होइन, हाम्रो लागि, हामी सबैको लागि काम गर्ने गरेको बताउनु भयो । उहाँले हाम्रो देश नेपाल भनेको नेपालीले नै बनाउने हो, नेपालमै बसेर बनाउने सोचका साथ देशभित्रै बसेर केहि गरौं भन्ने भावना युवा पुस्तामा पनि जगाउनु पर्छ भन्ने आफ्नो दृष्टिकोण रहेको बताउनु भयो । 
सोहि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिविका उपकुलपति प्रा.डा. सुशीलबहादुर बज्राचार्यले विश्वविद्यालयको गुणस्तर अभिवृद्धिका लागि एकेडेमिया र उद्योगबीच साझेदारी जरूरी रहेको उल्लेख गर्नुहुँदै पाठ्यक्रम निर्माणकै क्रममा विश्वविद्यालयहरूले भोलिका दिनमा छात्रवृत्ति पाउन सक्ने, बजारमा बिक्न सक्ने खालको सीपमुलक ज्ञान दिन सके विद्यार्थीलाई आकर्षण गर्न सकिने धारणा राख्नुभयो । पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा प्रेमनारायण अर्यालले उच्च शिक्षाको सन्दर्भमा अहिलेको शिक्षाले जिवन र जगतलाई जोड्न नसकेको आफुले अनुभव गरेको बताउनु हुँदै उहाँले उच्च शिक्षालाई सिकाई र कमाई सँगसँगै लैजाने गरी यसको पुनःर्संरचना गरौं भन्ने बहसको विषय अत्यन्त सान्दर्भिक लागेको बताउनु भयो । 
अर्का उद्यमी उपेन्द्र महतोले पूर्वी संस्कृतिको केन्द्र नेपाल नै रहेको जिकिर गर्नुहुँदै यसको संरक्षणले मात्र आर्थिक सम्वृद्धि हासिल हुने धारणा व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयहरूको सबैभन्दा ठुलो सम्पत्ति भनेको नेटवर्किङ हुने हुँदा एलुम्नाई एशोसिएशनको अवधारणालाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । सार्बजनिक कार्य वा व्यवसाय गर्दा समाजले हेरिरहेको हुने अवस्थामा नराम्रो काम गर्नबाट बच्न सकिने हुँदा सामाजिक कार्यको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । पद, पैसा र पावरले क्षणिक आनन्द मात्र हुने उल्लेख गर्नुहुँदै नैतिकताले समाजमा जीवनभर आनन्द दिन सक्ने उहाँले बताउनु भयो । 
कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता सेरिडका कार्यकारी निर्देशक सहप्राडा राजेन्द्र कुँवरले गर्नुभएको र कार्यक्रमको सञ्चालन डा. नरेन्द्रराज पनेरुले गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा उद्यमी चन्द्रप्रसाद ढकाल, शिक्षा तथा खेलकूद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. विनिल अर्याल, लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा हृदयरत्न बज्राचार्य, प्रा.डा. विद्यानाथ कोइराला, खुल्ला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. लेखनाथ शर्मा र त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी लगायतले कार्यपत्रहरू प्रस्तुतीकरण गर्नुहुने सेरिडका उपप्राध्यापक इन्द्रेश ठाकुरले बताउनु भयो ।