Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

उपकुलपति थापालाई बधाई ज्ञापन, सहकार्य गर्ने उपकुलपतिको प्रतिबद्धता

उपकुलपति थापालाई बधाई ज्ञापन, सहकार्य गर्ने उपकुलपतिको प्रतिबद्धता

2026-08-14

त्रिविका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापालाई त्रिवि एलुम्नाई एशोसिएशन नेपालका अध्यक्ष प्रदिपकुमार श्रेष्ठ नेतृत्वको टोलीले शुक्रवार कार्यकक्षमै पुगेर बधाई ज्ञापन गरेको छ । बधाई ज्ञापन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले उपकुलपति थापालाई एलुम्नाई एशोसिएशनको लोगो लगाएर संस्थाको संरक्षकको जिम्मेवारीबारे अवगत गराउनु भयो । उहाँले एशोसिएशनले प्रकाशन गरेका स्मारिका र म्यागाजिनहरू हस्तान्तरण गर्नुहुँदै उहाँको कार्यकालमा थप प्रभावकारी तरिकाले संस्थागत सहकार्य गर्न चाहेको बताउनु भयो । उपकुलपति थापाको समक्ष नेतृत्वबाट त्रिविको प्राज्ञिक उन्नयनमा थप उचाई हासिल हुने अपेक्षा गरेको उहाँले बताउनु भयो ।  भेटको अवसरमा अध्यक्ष श्रेष्ठले उपकुलपतिज्यूसँग एलुम्नाई एशोसिएशन स्वयम्सेवी रूपले केहि योगदान गर्न इच्छुक रहेको हुँदा त्यो वातावरण पदाधिकारीहरूले बनाई दिनुपर्ने धारणा राख्नुभयो ।

एलुम्नाई एशोसिएशनको टोलीलाई सम्बोधन गर्नुहुँदै उपकुलपति थापाले आफु एलुम्नाई एशोसिएशनलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताउनु भयो । आफुले उपकुलपति बन्नका लागि आवेदन गर्दा मन्त्रालयमा पेश गरेको सोचपत्र निर्माणदेखि नै एलुम्नाईलाई प्राथमिकतामा राखेको हुँदा संस्थागत सहकार्यमा आफ्नो पुरा समर्थन रहने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो सोचपत्रमा सबैको पहुँच पुगोस् भनेर त्रिविको वेवसाइटमा सोचपत्र राख्न भनिसकेको पनि उहाँले बताउनु भयो । त्रिविको एलुम्नाईहरू देश विदेशमा लाखौंको संख्यामा रहेकोले नेटवर्किङ्को माध्यमबाट सबैलाई जोड्दै जान सकिने धारणा व्यक्त गर्नुहुँदै उपकुलपति थापाले आगामी दिनमा आफ्नो तर्फबाट सकारात्मक भुमिका खेल्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
भेटमा निवर्तमान अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडाले त्रिवि पदाधिकारी र एलुम्नाई एशोसिएशनका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा परिणाम सकारात्मक आउने बताउनु भयो । भेटमा संस्थाका कोषाध्यक्ष डा. कुश्मिला आचार्य, सदस्यहरू नारायण जोशी, इन्द्रेश ठाकुर, डा. रामचन्द्र पोख्रेल, रविचन्द्र पराजुली र नोदनाथ त्रिताल लगायतले उपकुलपतिज्यूलाई विभिन्न सुझावहरू दिनुभयो ।