Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

एलुम्नाईसँगको सहकार्य अटुट रहने उपकुलपतिको प्रतिबद्धता

एलुम्नाईसँगको सहकार्य अटुट रहने उपकुलपतिको प्रतिबद्धता

2026-09-16

त्रिविका उपकुलपति एवम् एलुम्नाई एशोसिएशनका संरक्षक प्रा.डा. भोला थापाले एलुम्नाई एशोसिएशनसँगको सहकार्य अटुट रूपमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो कुरा त्रिवि एलुम्नाई एशोसिएशन नेपालको आयोजनामा बुधवार गरिएको ‘त्रिवि सुधारका लागि नेतृत्वको भिजन र रणनीतिक कार्य योजना’ शीर्षकको भर्चुअल सम्वाद कार्यक्रममा बताउनु भएको हो । त्रिविलाई पहुँच विस्तारमुखी मोडलबाट गुणस्तरउन्मुख अनुसन्धान र डिजिटल विश्वस्तरीय विश्वविद्यालय बनाउने रणनीति अख्तियार गरिने पनि बताउनु भयो । 
उहाँले आफ्नो भिजन पेपरमा एलुम्नाईलाई उच्च प्राथमिकतामा राखेको स्मरण गर्नुहुँदै बीसौं लाख ग्राजुएटहरूका लागि ऐतिहासिक सार्वजनिक डाटाबेस निर्माण गर्ने रणनीति रहेको बताउनु भयो । उहाँले एलुम्नाईको संलग्नतामा एलुम्नाईसँगको सम्बन्ध सेल निर्माण गर्ने, एलुम्नाई व्यवस्थापन डिजिटल प्लेटफर्म निर्माण गर्ने र योगदान गर्ने संस्कृतिको पुनःर्जागरण गर्ने योजना रहेको सुनाउनु भयो । उहाँले एलुम्नाई टिमको निरन्तर सहयोगी भुमिकालाई संस्थागत ब्राण्ड, ख्याती, अन्वेशण, व्यक्तित्व विकास, उद्योगसँगको सम्बन्ध विस्तार, प्राज्ञिक उत्कृष्टताको केन्द्र र पाठ्यक्रम प्रवद्र्धन आदिमा सहकार्य गर्दै जोड्न सकिने बताउनु भयो । 


यसैगरी उपकुलपति थापाले विश्वभर नै लगानी र मोविलिटीका कारण उच्च शिक्षामा चुनौतीहरू रहेको र त्यसको असर नेपालमा पनि देखिएको उल्लेख गर्नुहुँदै उहाँले त्रिविको विशाल संरचनाभित्र संरचनागत साखः गिरावटलाई रोक्नु अर्को चुनौती रहेको बताउनु भयो । देशभित्र त्रिविकै एलुम्नाईहरूले राज्य संयत्र चलाएको अवस्थामा त्रिविको विकेन्द्रीकरण गर्दै देश विदेशमा रहनु हुने एलुम्नाईको शक्तिलाई उपयोग गर्न आफुहरू प्रतिबद्ध रहेको उहाँले बताउनु भयो । त्रिविलाई बृहत विद्युतीय सेवा प्रवाहमा रूपान्तरण जरूरी रहेको औल्याउनु हुँदै उपकुलपति थापाले डिजिटल सुशासनमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सन् २०३० सम्म विश्वव्यापी सूचीकरणमा एक हजारभित्र पर्ने लक्ष्य र रणनीतिमा लागेको बताउनु भयो । उहाँले हरेक वर्षको चार चरणमा रणनीति कार्यान्वयन रोडम्याप निर्माण गरेको र सोहि अनुसार अगाडि बढ्ने बताउनु हुँदै विश्वविद्यालयको सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्रयास भइरहेको बताउनु भयो । 
कार्यक्रममा पत्रकार प्रशान्त ओलीले परीक्षा प्रणाली सुधार कहिले हुने भन्ने जिज्ञाषा राख्नुभएको थियो भने प्रा.डा. कृष्णराज तिवारीले रूपान्तरण साधारण तरिकाले नहुने भएकोले अपरेशन नै चलाउनु पर्ने बताउनु भयो । अर्का सहभागी न्हुच्छे नारायण श्रेष्ठले कर्मचारीको लोड कम गर्न समयमा विज्ञापन हुनुपर्ने र पदोन्नतीको अवसर दिनुपर्ने धारणासहित विकेन्द्रीकरणको नियम भए पनि कार्यान्वयन नभएको गुनासो गर्नुभएको थियो । 
यस्तै टिएन भारद्वाजले गरिमामय ऐतिहासिक विश्वविद्यालय भएर पनि त्रिविमा पोशाक अनिवार्य गर्न सकिने नसकिनेबारे जिज्ञाषा राख्नु भएको थियो भने धौलागिरी क्याम्पस, बागलुङ्बाट डिल्लीराज गौतमले पेन्सन सुविधाको माग राख्दै शिक्षक कर्मचारीबाट पाँच महिनादेखि भइरहेको धर्ना कार्यक्रमबारे पदाधिकारीको धारणा के रहेको छ? भनी जिज्ञाषा राख्नुभएको थियो । यस्तै वातावरण केन्द्रीय विभागकी लेखा अधिकृत शोभा सेढाईंले कर्मचारीको ज्ञान र क्षमता अभिवृद्धिका लागि के योजना छ? र त्रिविको भिजन २०३० कार्यान्वयनमा कर्मचारीको तर्फबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ? भनी जिज्ञाषा राख्नुभएको थियो । यसैगरी सहभागी नोदनाथ त्रितालले यस वर्षको दीक्षान्त कार्यक्रमको प्रक्रिया कहाँ पुगेको छ? बजेट स्वीकृति प्रक्रिया के भइरहेको छ? सिनेट बैठक कहिले बस्छ? सरकारबाट बजेट कटौतीको अवस्था किन आयो? र जग्गा खोजविन समितिको प्रतिबेदन कार्यान्वयनको अवस्था कहाँ पुग्यो? भन्ने आम सरोकारवालाको जिज्ञाषा रहेकोले प्रष्ट पारिदिन आग्रह गर्नुभएको थियो । 
सहभागीहरूले सोधेका प्रश्नहरूको जवाफमा उपकुलपति थापाले त्रिविभित्र पढ्ने पढाउने शिक्षक, अनुसन्धानकर्ताहरूलाई वातावरण बनाउने जिम्मेवारी त्रिवि नेतृत्वको रहेको उल्लेख गर्नुहुँदै परीक्षाको काममा डीन कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गरेर सुधारको प्रयास गरिरहेको बताउनु भयो । यस्तै प्राविधिक जनशक्तिको अभाव महशुष भएको तर ओ एण्ड एम सर्वेक्षणको प्रतिवेदनले दरबन्दी प्रक्षेपण गरेको सम्बन्धमा अध्ययन गरेर मात्र कर्मचारी व्यवस्थापन गर्न सकिने बताउनु भयो । उहाँले दरबन्दी पुनरावलोकन गर्नुपूर्व हामीले जहाँ दरबन्दी, त्यहाँ बसेर काम गर्ने गरी आफ्नो सोच बदल्नु पर्ने बताउँदै उहाँले प्रतिवेदन अध्ययन गरेर देशभर दरबन्दी पुनरावलोकन गर्ने बताउनु भयो । सेवा आयोगमा विगत वर्षहरूदेखि रोकिएका दुई हजार अन्तरवार्ता हाल भइरहेको बताउनुहुँदै उहाँले कार्यकारी परिषद्बाट बाधा अड्काउन फुकाउँदै अध्यक्ष र सदस्यले समानान्तर अन्तरवार्ता गर्न सक्ने नीतिगत व्यवस्था गरेर आयोगको काममा चुस्तता दिइएको बताउनु भयो । विश्वविद्यालय सिर्जनसील व्यक्तिहरू रहने थलो भएकोले पोषकको अनिवार्यताबारे अहिले केहि धारणा नरहेको तर आवश्यक परे निर्णय लिन सकिने बताउनु भयो । 
अर्को जिज्ञाषाको जवाफमा पेन्सनको माग गर्ने शिक्षक कर्मचारीको समस्या र मागको बारेमा उहाँहरूबाट भेटेर जानकारी दिइएकोले समस्या ग्रहण गरेको तर विस्तृत सोधिखोजी गर्न बाँकी रहेको उल्लेख गर्नुहुँदै राज्यलाई अनावश्यक आर्थिक बोझ नपर्ने गरी सिनेटमा प्रस्ताव लिएर जानु पर्ने अवस्थामा गृहकार्य गरिने र सरोकारवालासँग छलफल गरेर न्यायोचित र आवश्यकताका आधारमा निर्णयमा पुग्ने बताउनु भयो ।
यसैगरी कर्मचारीले सेवा प्रवेशको समयमा प्रविधिसँग परिचित नभएको पनि हुनसक्ने हुँदा पुनर्ताजगी कार्यक्रमहरू गराउने विषयमा आफु सकारात्मक रहेको उहाँले बताउनु भयो । छोटो समयमा केहि रचनात्मक कार्य गर्ने सोचका साथ एआईको प्रयोगसम्बन्धी ज्ञानको बारेमा शिक्षक कर्मचारीलाई तालिम कार्यक्रम आयोजना गर्न र वृत्ति विकास गराउन गृहकार्य गरिरहेको र चाँडै गरिने पनि उहाँले बताउनु भयो । 
यस्तै उपकुलपति थापाले उचित समयमा बजेट पारित गरिने, एकेडेमिक अडिट गर्ने बताउनु भयो । उहाँले वृत्ति विकासमा जाने प्राध्यापकहरूले इमान्दार भएर फर्की सेवा गर्नुपर्ने बताउनु भयो । यस्तै त्रिविका दीक्षान्त समारोहलाई सुव्यवस्थित गर्ने उद्देश्यका साथ प्रादेशिक रूपमा प्रतिष्पर्धात्मक तरिकाले विकेन्द्रीकृत गरेर सञ्चालन गर्ने योजना रहेको बताउनु भयो । 
यसैगरी त्रिविको जग्गा खोजविन समितिको प्रतिवेदनलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने र त्यसको लागि सरोकारवालासँग छलफल गरेर जग्गा फिर्ता ल्याउने र राम्रोसँग उपयोग गर्ने व्यवस्था गरिने बताउनु भयो । उहाँले जग्गा एक पटक फिर्ता ल्याउने विषय ठुलो नभएको तर त्यसलाई निरन्तर उपयोग गरेर जग्गा संरक्षणमा दीगो समाधान खोजि गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । 
कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा. अञ्जना सिंह महर्जनले विश्वविद्यालयमा आफुहरू भर्खरै जिम्मेवारीमा आएको, विश्वविद्यालयमा समस्याहरू धेरै भए पनि त्यसको क्रमशः समाधान गर्दै जानुपर्ने बताउनु भयो । उहाँले सिँगो विश्वविद्यालयको प्रगतिको लागि सबैले उत्तिकै महत्वका साथ सहयोग गर्नुपर्ने बताउनु भयो । 


कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्नुहुँदै संस्थाका निवर्तमान अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडाले फ्याकल्टी विकास कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्न उपकुलपतिलाई सुझाव दिनुभयो । साथै उहाँले सरकारी अनुसन्धानहरू त्रिविका अनुसन्धान केन्द्रहरूबाट गराएर राज्यलाई योगदान दिन पहल गर्नुपर्ने बताउनु भयो । एकेडेमिक अडिट गर्दा सकाय र अध्ययन संस्थानहरूको अलग अलग मूल्याङ्कन गरेर तुलनात्मक अवस्था अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले एलुम्नाईको पहिचान गर्न सबै क्याम्पस, विभाग र स्कूलहरूमा गठन भएका एलुम्नाईहरूको नेटवर्कलाई उपयोग गर्न सकिने बताउनु भयो । यसैगरी एलुम्नाइबाट आर्थिक सहयोग मात्र अपेक्षा गर्ने नभई शैक्षिक सहयोग र ज्ञान सिर्जना र हस्तान्तरणमा योगदान खोज्नुपर्ने सुझाव दिनुभयो । उहाँले एलुम्नाई एशोसिएशनको अध्यक्षलाई त्रिविको सिनेट बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी गर्न नीतिगत व्यवस्था हुनुुपर्ने माग समेत गनुृभएको थियो ।  
कार्यक्रमको सञ्चालन एवम् सहभागीहरूलाई स्वागत संस्थाका उपाध्यक्ष प्रा.डा. ऋदिश कुमार पोखरेलले गर्नुभएको थियो भने सहजीकरण रविचन्द्र पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिप कुमार श्रेष्ठले दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । त्रिवि एलुम्नाईले भर्चुअल सम्वादको यो सातौं श्रृखला आयोजना गरेको थियो ।