Smriti Bhawan, TU Road, Kirtipur
त्रिवि एलुम्नाई एशोसिएशन नेपालको कार्य समिति बैठक आज स्मृति भवन, कीर्तिपुरमा सम्पन्न भएको छ । बैठकले आगामी छैटौ तथा सातौं वार्षिक साधारण सभा भाद्र दोस्रो साताभित्र आयोजना गर्ने, ज्ञान निर्माण र आदानप्रदानका लागि अनलाइन माध्यमबाट भर्चुअल सम्वाद कार्यक्रमको थालनी गर्ने, त्रिविको आगामी श्रावण ७ गते हुने वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कार्यशाला आयोजना गर्ने, संस्थाको विगत आर्थिक वर्षको लेखा परीक्षण कार्यको लागि लेखा परीक्षक नियुक्त गर्ने, यस अघि प्रकाशन प्रारम्भ गरिएको टुआन म्यागाजिन प्रकाशनलाई निरन्तरता दिन लेख रचना माग गर्ने, त्रिविको सेवालाई एकीकृत मोवाइन एप्स्मा जोड्न डिजिटल त्रिवि एप्स् निर्माणको प्राविधिक पक्षमा योगदान गर्न पहल गर्ने लगायत निर्णयहरू गरेको छ । बैठकले त्रिविका सहकुलपति एवम् शिक्षा तथा खेलकूद मन्त्रीसँग भेटघाट गरी सरकार र विश्वविद्यालयबीचको सहकार्यलाई निरन्तरता दिन एलुम्नाई एशोसिएशनको भुमिकाबारे छलफल गर्ने निर्णय समेत गरेको छ ।

बैठक संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव डा.धिरज प्रधानाङ्गले एजेण्डाहरूबारे प्रकाश पार्नुभएको थियो भने कोषाध्यक्ष डा. कुश्मिला आचार्य, सदस्यहरू प्राडा चन्द्रलाल श्रेष्ठ, डा. भोलानाथ ढकाल, नारायण जोशी र रविचन्द्र पराजुलीले संस्थालाई क्रियाशिल बनाउन र सदस्यता विस्तार गर्न रचनात्मक कार्यक्रमहरू गर्न सकिने धारणा व्यक्त गर्नुभएको सचिवालय सदस्य नोदनाथ त्रितालले बताउनु भयो ।
