Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

विश्वविद्यालयको वास्तविक शक्ति पूर्व विद्यार्थीहरू: अध्यक्ष श्रेष्ठ

विश्वविद्यालयको वास्तविक शक्ति पूर्व विद्यार्थीहरू: अध्यक्ष श्रेष्ठ

2026-07-12

त्रिवि, एलुम्नाई एशोसिएशनले आफ्नो विगत, वर्तमान र भविष्यबारे भर्चुअल छलफल कार्यक्रम सम्पन्न गरेको छ । संस्था स्थापना भएको करिब एक दशक पुग्न लाग्दा संस्थाले गरेका कामहरूको सिँहावलोकन गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले विश्वविद्यालयको वास्तविक शक्ति पूर्व विद्यार्थीहरू भएकोमा कसैको दुई मत नरहेको बताउनु भयो । विश्वविद्यालयकोे विकासमा एलुम्नाईहरूको ठूलो भुमिका रहेको उल्लेख गर्नुहुँदै उहाँले त्रिवि अध्ययन गरेका एलुम्नाईहरू विश्वभर छरिएर रहेका तर को कहाँ के काम गरेर बसेका छन्? भनेर रोस्टर बनाउन नसकिएको बताउनु भयो । सबै पूर्व विद्यार्थीहरूको साझा मञ्च बनाउने ध्येयले शुरूवात गरिएको संस्थामा डेडिकेटेड सदस्यहरू थपेर त्रिविलाई योगदान गर्न नेटवर्कले पहल गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । आफुले देश विदेशमा हुने लब्धप्रतिष्ठित एलुम्नाईहरूको सम्मान गर्ने कार्यको शुरूवात गरेको बताउनु हुँदै उहाँले एलुम्नाई नेटवर्कले युवा र विद्यार्थीहरूलाई मेन्टरसीप प्रदान गर्ने सोच रहेको पनि बताउनु भयो । देश विदेशमा जहाँ भए पनि त्रिविमा अध्ययन गरेको भन्न पाउँदा हरेक एलुम्नाईलाई गर्व महशुष हुने उल्लेख गर्नुहुँदै उहाँले विश्वविद्यालयबाट ज्ञान लिने सबैले अब विश्वविद्यालय फर्केर केहि दिने योगदान गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सबैको सुझावहरू ग्रहण गरेर त्रिवि पदाधिकारीहरूसँग समन्वय र सहकार्यमा कार्य गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 


कार्यक्रममा पूर्व अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडाले एलुम्नाई संस्थाको गतिविधि समेटेर कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले त्रिवि बेरोजगार जनशक्ति उत्पादन गर्ने संस्था भनी नकारात्मक प्रचार भएको तर वास्तविक त्यो नरहेको स्पष्ट पार्नुभयो । उहाँले विश्वविद्यालयले रोजगारी दिने नभई दक्ष जनशक्ति उत्पादन गर्ने र त्यो जनशक्तिलाई रोजगारीको वातावरण बनाउने काम राज्यको भएको बताउनु भयो ।

कार्यक्रमको छलफलको प्रारम्भमा संस्थाका महासचिव डा. धीरज प्रधानाङ्गले संस्थाले रचनात्मक कार्यक्रमहरू गर्न निरन्तर प्रयत्न गरिरहेको बताउनु भयो । छलफल सत्रमा सहभागी हुँदै कोषाध्यक्ष कुश्मिला आचार्यले कमाउँदै पढ्दैको अवधारणालाई विश्वविद्यालयले पाठ्यक्रममा समेट्न नसक्दा समस्या भइरहेको बताउनु भयो । विद्यालय पढाउन शिक्षक सक्षम भए मात्र विद्यालयस्तरदेखि शिक्षाको जग बलियो हुने धारणा उहाँले राख्नु भयो । तेह्रथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पोष्टराज लामिछानेले उदमशीलता इकोसिस्टम विकास नगरेसम्म बेरोजगारी समस्या समाधान नहुने धारणा राख्नु भयो । यसैगरी सदस्य नारायण जोशीले त्रिवि पदाधिकारीसँग बसेर सहयोग गर्न सकिने विषयमा छलफल गरी अगाडि बढ्न सूझाव दिनुभयो ।

त्यस्तै सहभागी दिपक तिवारीले बेरोजगार उत्पादन गर्ने थलो भनेर त्रिविलाई आरोप लाग्ने गरेकोमा यसलाई चिर्नुपर्ने बताउनु भयो । सहभागी नोदनाथ त्रितालले संघीयताको मर्म अनुरूप त्रिविको पुनःर्संरचनाका लागि सातै प्रदेशमा सेमेनार छलफल गरेर त्रिविको पुनःर्संरचनामा पृष्ठपोषण दिन सकिने बताउनु भयो । सहभागी लक्ष्मी तामाङ्ले कलेज एलुम्नाईहरूलाई सञ्जालमा जोड्न सके प्रदेश स्तरमा कार्यक्रमहरू गर्न समन्वय गर्न सकिने धारणा व्यक्त गर्नुहुँदै विदेशमा नेटवर्क विस्तार गर्दा युनेस्को मोडलको क्षेत्रीय नेटवर्क बनाउन सकिने बताउनु भयो ।

सहभागी ज्ञानेन्द्रराज शर्माले एलुम्नाइहरूलाई विभिन्न शैक्षिक कार्यक्रममा अतिथि वक्ता, मेन्टर र इन्टर्नसीप गर्ने विद्यार्थीहरूको सहयोगीको भुमिकामा उपयोग गर्न सकिने बताउनु भयो । सहभागी सन्तोष कुमार वैद्य तामा«ले व्यवहारिक, अनुसन्धानात्मक र कम्तिमा एक वर्षको इन्टर्नसीप गर्ने गरी पाठ्यक्रम परिमार्जन गर्न एलुम्नाई नेटवर्कले पैरवी गर्नुपर्ने बताउनु भयो । सहभागी लक्ष्मी तामाङ्ले कोर्ष परिमार्जन गर्नुभन्दा पहिले आवश्यकता पहिचान सर्वेक्षण गरेर के कस्तो जनशक्ति बजारमा बिकाऊ हुन्छ, सोही अनुरूप कोष परिमार्जन गर्न सके तथ्यगत हुने धारणा व्यक्त गनुृभयो । 


कार्यक्रमको समापन गर्दै संस्थाका उपाध्यक्ष प्रा.डा. ऋदिश कुुमार पोखरेलले एलुम्नाई एशोसिएशनको क्रियाशिलता बढाउन सकिने धारणा व्यक्त गर्नुभयो । प्रारम्भदेखि उठाउँदै आएको विषय एलुम्नाईको अध्यक्षलाई सिनेट सदस्य बनाउने कानुनी प्रावधान गर्न पहल गर्नुपर्ने धारणा उहाँले राख्नुभयो । संस्था र विश्वविद्यालय नेतृत्वबीच निरन्तर सम्वाद भई सहकार्य हुन सके एलुम्नाईको तर्फबाट थुप्रै सहयोग गर्न सकिने अवसर रहेको उहाँले बताउनु भयो । कार्यक्रमको सहजीकरण समितिका सदस्य रविचन्द्र पराजुलीले गर्नुभएको थियो ।