Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

त्रिविको ६७ औं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया सम्पन्न

त्रिविको ६७ औं वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया सम्पन्न

2026-07-22

त्रिविको ६७ औं वार्षिकोत्सवको अवसर पारेर एलुम्नाई एशोसिएशनले आयोजना गरेको पुनर्संरचनाको पर्खाईमा त्रिविः विगत, वर्तमान र अबको बाटो शीर्षकको वेवीनारमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा.डा. देवराज अधिकारीले नेपालमा करिब दुई दर्जन विश्वविद्यालयहरू स्थापना भए पनि विद्यार्थी संख्याका आधारमा सन्तुलन नरहेको बताउनु भयो । विद्यार्थी भर्ना प्रक्रिया फरक फरक रहेको, कर्मचारी भर्ना र वृद्धि विकासको प्रक्रियामा धेरै भिन्नता रहेको बताउनु हुँदै उहाँले राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा त्रिविको भुमिकालाई कम आँक्न नहुने धारणा व्यक्त गर्नुभयो । त्रिवि मात्र जनशक्ति उत्पादन गर्ने एक सुदृढ आधारस्तम्भको भुमिकामा रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले त्रिवि मात्र नभएर देशका सम्पूर्ण विश्वविद्यालयहरूले चुनौतीको रूपमा सामाना गरेको विषय भनेको पुरानो शिक्षण पद्धती, अन्योलपूर्ण अनुसन्धान, क्षुद्र राजनीति, दिशाहिन प्रशासनीक प्रणाली रहेका र परिणाम २१ औं शताब्दीको उच्च शिक्षा संस्थाहरूको गुणस्तर सुनिश्चित गर्न र प्रतिष्पर्धात्मक विद्यार्थी उत्पादनमा अवरोध हुने गरेको बताउनु भयो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले विश्वविद्यालयहरूको विद्यार्थी भर्ना र उत्पादनको तुलनात्मक प्रस्तुतीकरण गर्नुभएको थियो । देशभर एक हजार ३९ वटा स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको, २ सय ९१ वटा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम भएको र १३ वटा पिजिडी कार्यक्रम रहेको उल्लेख गर्नुभएको थियो । 
यस्तै कार्यपत्र प्रस्तुत गर्नुहुँदै त्रिवि गणित शिक्षाका प्राध्यापक डा. टँकनाथ धमलाले त्रिविको भविष्य सकारात्मक रहेको बताउनु भयो । उहाँले अनुगमन र मूल्याँकन पद्धती विगतमा फितलो भएकोले आगामी दिनमा बलियो बनाउनु पर्ने, भौतिक सम्पतिको सही सदुपयोग गर्नुपर्ने, क्यालेण्डर सुुनिश्चित हुनुपर्ने, तालिमप्राप्त मानवीय स्रोत परिचालन हुनुपर्ने, आवधिक वृत्तिविकासमा ध्यान दिनुपर्ने र मागमा आधारित पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नै आवश्यकता औंल्याउनु भएको थियो । त्रिविलाई टुक्राउनु नहुने बताउनु हुँदै उहाँले विकेन्द्रीकरण र स्वायत्तताको नियमलाई प्रभावकारी कार्यान्वयन गर्नु नै अहिलेको उत्तम उपाय भएको बताउनु भयो । वैज्ञानिक प्राध्यापकहरू विश्वविद्यालयका मुख्य स्रोत रहेकोले शैक्षिक र प्रशासनीक पारदर्शीता र स्वायत्तताबाट मात्र विश्वविद्यालयहरूलाई सेन्टर फर एक्सलेन्सीको अवधारणामा लैजान सकिने धारणा उहाँले व्यक्त गर्नुभयो । 
कार्यक्रममा जुम्ला क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. ओम आचार्य, सूर्यनारायण सत्य नारायण मोरवैत्ता यादव बहुमुखी क्याम्पस, सिरहाका क्याम्पस प्रमुख राजेश्वर यादव, भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा. पर्वतकुमार राई, र तेह्रथुम बहुमुखी क्याम्पसका प्रमुख पोष्टराज लामिछानेले क्याम्पसमा काम गर्दाको शैक्षिक एवम् प्रशासनीक अनुभव सुनाउनु भयो । 
कार्यक्रमको प्रारम्भमा संस्थाका कोषाध्यक्ष डा. कुश्मिला आचार्यले सबैलाई स्वागत गर्नुभएको थियो भने अध्यक्ष प्रदिपकुमार श्रेष्ठको शुभकामना सन्देश सुनाईएको थियो । कार्यक्रमको समापन गर्नुहुँदै उपाध्यक्ष प्रा.डा. ऋदिशकुमार पोखरेलले सबैले मिलेर त्रिविको गुणस्तर र ख्यातीलाई कायम राख्न योगदान गर्नुपर्ने बताउनु हुँदै त्रिविको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो भने सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सदस्य रविचन्द्र पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्र र स्थानबाट करिब ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।