Tribhuvan University Alumni Association Nepal

Tribhuvan University

Smriti Bhawan, TU Road, Kirtipur

नेपाली महिलाको सशक्तिकरणमा जोड 

नेपाली महिलाको सशक्तिकरणमा जोड 

2024-03-16

बागमती प्रदेश सभा सदस्य माननीय मीना पराजुली पोखरेलले समतामुलक समाज निर्माणका लागि महिला सशक्तिकरणमा जोड दिनुपर्ने बताउनु भएको छ । उहाँले आज आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै महिलाहरुलाई प्रभावकारी सहभागिताका लागि निर्वाचन प्रणालीमै सुधार गरेर अगाडि बढ्नुपर्ने बताउनु भयो । बजेट निर्माणमा राज्यले लैङ्गिक बजेट विनियोजनमा ध्यान दिनुपर्ने बताउनु हुँदै उहाँले महिलामैत्री कानून निर्माणमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
सोहि त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. कुशुम शाक्यले महिला शिक्षित नभई परिवार शिक्षित हुन नसक्ने धारणा राख्नु भएको छ । लैंङ्गिक समावेशीताको विषय महिलाको मात्र विषय नभएको बताउनु हुँदै डीन शाक्यले पुरुषहरुले पनि महिलाको भुमिका र समस्याबारे जानकार हुनुपर्ने बताउनु भएको छ । घरेलु हिँसाले ग्रसित समाजमा डिजिटल हिँसाको घटना बढ्न थालेको अवस्थामा राज्यले महिला अधिकारका लागि निर्माण गरेको कानूनी व्यवस्थाबारे व्यवहारिक रुपमा सबैलाई थाहा हुुनुपर्ने पनि उहाँले बताउनु भयो । कार्यक्रममा ‘अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ र नेपाली महिला’ विषयमा विमला ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने ‘सामाजिक समावेशीकरण तथा महिला प्रेरणा’ विषयमा डा. समिधा ढुङ्गेल पोखरेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि सहभागीहरुले टिप्पणी तथा प्रश्नहरु राख्नुभएको थियो । 


छलफल कार्यक्रममा अतिथि वक्ताको रुपमा कानून व्यवसायी सदिप खरेल, अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका डा. मनोहरा खड्का, नेपाल किसान परिषद्का पुष्पा भुषाल र गृह विज्ञान केन्द्रीय विभागकी विभागीय प्रमुख सन्तोष गिरी गुरुङले महिला अधिकारका विषयमा पर्याप्त कानुनी व्यवस्था रहेको भएता पनि प्रभावकारी कानून कार्यान्वयन हुन नसकेको औंल्याउनु हुँदै आरक्षण मात्रैले समता नआउने र क्षमताले पाउनु पर्ने जिम्मेवारीमा महिलालाई पनि क्षमताका आधारमा नै नेतृत्व दिनुपर्ने कुरामा जोड दिँदै आ–आफ्ना धारणाहरु राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष प्रा.डा. ऋदिशकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसी उप समितिका संयोजक खुमा शर्मा धितालले ‘नेपालमा प्राकृतिक स्रोत र शैक्षिक क्षेत्रमा समावेशीकरण प्रवद्र्धनका अवसर र चुनौती’ विषयमा प्यानल छलफलको सहजीकरण गर्नुभएको थियो ।
यसैगरी संस्थाका कार्यकारी सदस्य एवम् सूचना अधिकारी नारायण जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो । संस्थाका प्रकाशन उप समितिका संयोजक डा. भोलानाथ ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन नोदनाथ त्रितालले गर्नुभएको थियो । अनुसन्धान र शिक्षाका लागि काठमाडौ केन्द्र (KCRE), स्माल अर्थ नेपाल (SEN) र पद्मकन्या क्याम्पसको सहयोगमा त्रिवि एलुम्नाई एशोसिएशन नेपाल (TUAAN) ले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आज एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।