Smriti Bhawan, TU Road, Kirtipur
त्रिवि एलुम्नाई एशोसिएशन नेपालको टोलीले आज उपकुलपति प्रा.डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिष्ट्रार प्रा.डा. केदार रिजाललाई बधाई एवम् शुभकामना व्यक्त गर्दै परिचयात्मक अन्तरक्रिया गरेको छ ।

त्रिवि उपकुलपतिको कार्यालय, कीर्तिपुरमा भएको भेटमा उपकुलपति बरालले एलुम्नाई एशोसिएशन एउटा स्वतन्त्र संस्था भएकोले विश्वविद्यालयलाई गर्न सक्ने योगदानको कार्य योजना बनाउन सुझाव दिनुभएको थियो । अहिले विश्वविद्यालय अनुदान आयोगले समेत एलुम्नाई एशोसिएशनको आवश्यकतालाई अनिवार्य शर्त बनाएको उल्लेख गर्नुहुँदै उहाँले तत्काल विश्वविद्यालयलाई गर्न सक्ने सहयोग र दीर्घकालीन रुपमा गर्न सक्ने योगदानको कार्ययोजना बनाएर एलुम्नाई र विश्वविद्यालयबीच सहकार्य गर्न सकिने धारणा व्यक्त गर्नुभयो । यसैगरी शिक्षाध्यक्ष प्रा.डा. केसीले विश्वविद्यालय भित्र गरिने अनुसन्धान र उद्यमशीलतासम्बन्धी कार्यक्रमलाई औद्योगिक क्षेत्रसँग जोडेर अगाडि बढ्ने योजना रहेको उल्लेख गर्नुहुँदै एलुम्नाईहरुसँगको सहकार्यले यसलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी रजिष्ट्रार प्रा.डा. रिजालले एलुम्नाईको महत्व हरेक विश्वविद्यालयमा रहने उल्लेख गर्नुहुँदै थुप्रै विषयमा विश्वविद्यालयले एलुम्नाईमार्फत सहकार्य गर्न सक्ने सम्भावना रहेको बताउनु भयो । सो अवसरमा सबै पदाधिकारीज्यूहरुले थप छलफल गरी एलुम्नाई एशोसिएशनसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यसैगरी संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले उपकुलपति प्रा.डा. बराललाई बधाई एवम् शुभकामना पत्र हस्तान्तरण गर्नुभएको थियो भने उहाँले तीनै जना पदाधिकारीज्यूहरुलाई एलुम्नाई एशोसिएशनको स्मारिका र लोगो प्रदान गर्नुभएको थियो । उहाँले संस्थाको तर्फबाट विश्वविद्यालयले उपलब्ध गराएको जमिनमा सबैले प्रयोग गर्न सक्ने गरी सचिवालय भवन निर्माण गर्ने योजना रहेको उल्लेख गर्नुहुँदै विश्वविद्यालयलाई पू¥याउन सक्ने योगदान एवम् सहयोगको क्षेत्र र एलुम्नाईहरु को कहाँ रहेका छन् भनेर संस्थाले पहिचान गर्ने प्रयत्न गरिरहेको बताउनु भयो ।
यसैगरी निवर्तमान अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडाले एलुम्नाईले विश्वविद्यालयसँग हातेमालो गर्दै अगाडि बढ्न चाहेको र पदाधिकारीज्यूहरुले सकारात्मक सहयोग गर्नुपर्ने बताउनु भयो । संस्थाका उपाध्यक्ष प्रा.डा. ऋदिशकुमार पोखरेलले त्रिविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुलाई संगठित गरी विश्वविद्यालयप्रति अपनत्व कायम गराउने र विश्वविद्यालयको शैक्षिक, प्रशासनिक, भौतिक एवम् प्राज्ञिक उन्नयनका लागि एलुम्नाईहरुको तर्फबाट योगदान गर्न समन्वयात्मक भुमिका निर्वाह गर्ने मुख्य उद्देश्यका साथ वि.सं. २०७४ सालमा संस्था स्थापना भएको जानकारी गराउनु भएको थियो ।
उपकुलपति बरालले गत वर्ष फागुन १० गते गतेदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा चार वर्षे कार्यकालको लागि नियुक्ति पाउनु भएको थियो भने शिक्षाध्यक्ष केसी र रजिष्ट्रार रिजालले गत चैत्र ३० गते नियुक्ति पाउनु भएको थियो । संस्थाले पदाधिकारीहरुमाझ एलुम्नाईहरुको सहयोगबाट राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा त्रिविको गरिमा अभिवृद्धि र संस्थागत छवि सुदृढीकरणमा थप सहयोग तथा योगदान पु¥याउन हातेमालो गर्दै सहकार्य गर्न सकिने विश्वास व्यक्त गरेको छ । एलुम्नाई एशोसिएशन नेपालको निर्देशिकाको दफा–१७ बमोजिम उपकुलपतिज्यू संस्थाको संरक्षक रहने व्यवस्था रहेको छ ।
संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठ नेतृत्वको टोलीमा निवर्तमान अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडा, उपाध्यक्ष प्रा.डा. ऋदिशकुमार पोखरेल, महासचिव डा. धिरज प्रधानाङ्ग, कोषाध्यक्ष डा. कुश्मिला आचार्य, सदस्यहरु प्रा.डा. नारायणप्रसाद चापागाईं, प्रा.डा. चन्द्रलाल श्रेष्ठ, डा. ठाकुर सिलवाल, डा. भोलानाथ ढकाल, डा. रामचन्द्र पोखरेल, नारायण जोशी, रविचन्द्र पराजुली, राजेशकुमार खनाल र आजीवन सदस्य नोदनाथ त्रिताल लगायतको उपस्थिति रहेको थियो ।
