Smriti Bhawan, TU Road, Kirtipur
त्रिवि सूचना प्रविधि प्रवर्तन केन्द्रको आयोजनामा तीन दिने एकीकृत वेवसाइट व्यवस्थापन कार्यशाला कीर्तिपुरमा शुरु भएको छ । कार्यशालाको उद्घाटन सत्रमा बोल्नुहुँदै केन्द्रका निर्देशक प्रा.डा. सुवर्ण शाक्यले सहभागीहरुलाई तालिममा सिकेको कुराहरु व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । उहाँले विश्वविद्यालयले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउनु हुँदै विश्वविद्यालयको हरेक काम कारवाहीको प्रक्रियामा अब सूचना प्रविधिले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले वेवसाइटमार्फत विश्वविद्यालयका हरेक निकायका गतिविधिहरुको सूचना प्रवाह गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुहुँदै सहभागीहरुलाई राम्रो ज्ञान हासिल गरेर प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सूचना प्रविधि विज्ञ रोमकान्त पाण्डेले कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्नुहुँदै सहभागीहरुलाई एकीकृत वेवसाइट व्यवस्थापन र सञ्चालनको व्यवहारिक ज्ञान प्रदान गर्न कार्यशाला आयोजना गरिएको र सहभागीहरुलाई कार्यक्रमपश्चात वेवासाइट व्यवस्थापनमा पूर्ण सिकाई हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । वेवसाइट व्यवस्थापन गर्ने सूचना प्रविधिसंग सम्बन्धित व्यक्ति कार्यालयमा वेवसाइट दुतको रुपमा रहने गरी सिँगो विश्वविद्यालय अटोमेशनमा जानुपर्ने आजको आवश्यकता रहेको र वेवसाइट यसको एउटा महत्वपूर्ण भाग भएकोले वेवसाइट व्यवस्थापन र सञ्चालनमा सहभागीहरुको भुमिका महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।

उद्घाटन सत्रको सहजीकरण कर्मचारी प्रशासन महाशाखाका शाखा अधिकृत भृगुदेवी सापकोटाले गर्नुभएको थियो ।
तालिम कार्यक्रममा सूचना तथा जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले वेवसाइटमा समावेश हुने विषयवस्तुहरु लेखन सीप र वेवसाइट व्यवस्थापन कलाबारे सहजीकरण गर्नुभएको थियो । तालिमको सहजीकरण गर्दै बस्ताकोटीले वेवसाइटमा समावेश हुने विषयवस्तुको चयन, समाचार तथा गतिविधिको रिपोर्टिङ्, लेखन विधि र प्रक्रियाबारे जानकारी दिनुभएको थियो भने वेवसाइटलाई पाठकमैत्री बनाउनु पर्ने र वेवसाइटमा पाठकले रुचाउने सूचना तथा जानकारीमुलक विषयवस्तु तथ्य र प्रमाणका आधारमा समावेश गर्न सके वेवसाइटको विषयवस्तु नै मुल कुरा भएको र त्यसले संस्थाको ब्रेनको रुपमा कार्य गर्ने बताउनु भयो । उहाँले सबै निकायमा निकाय प्रमुख संयोजक रहने गरी वेवसाइट व्यवस्थापन तथा सञ्चालन समिति बनाएर वेवसाइटलाई व्यवस्थित गर्न नीतिगत व्यवस्था हुन लागेको समेत जानकारी दिनुभयो ।

यसैगरी सूचना प्रविधि नवप्रवर्तन केन्द्रका प्राविधिकहरु सुदर्शन भण्डारी, सन्तोष पञ्जियार र सरोज महर्जनले वेवसाइटको डेमो प्रस्तुतीकरणसहित वेवसाइट ड्यासबोर्ड सञ्चालन र मुल मेनुमा सूचना अध्यावधिक गर्ने व्यवहारिक सीप प्रदान गर्न सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा त्रिवि एलुम्नाई एशोसिएशन सहित त्रिविका गुणस्तर सुनिश्चितता तथा प्रत्यायन केन्द्र, योजना निर्देशनालय, अनुसन्धान निर्देशनालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, परीक्षा नियन्त्रण कार्यालय, इन्जिनियरिङ् अध्ययन संस्थान, जनप्रशासन केन्द्रीय विभाग, गृहविज्ञान केन्द्रीय विभाग, जनसंख्या केन्द्रीय विभाग, खाद्यप्रविधि केन्द्रीय विभाग र गणित विज्ञान स्कूल समेतबाट २० जनाभन्दा बढीको सहभागिता रहेको छ । कार्यशाला तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
