Smriti Bhawan, TU Road, Kirtipur
त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं वार्षिक साधारण सभा २०८१ श्रावण २६ गते शनिवारका दिन त्रिवि स्मृति भवन, कीर्तिपुरमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन सत्र संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठको अध्यक्षतामा तथा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष प्रदिप कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । उद्घाटन सत्रमा संस्थाले प्रकाशन गरेको ‘एलुम्नाई म्यागाजिन’ को विमोचन गरिएको छ । साथै मुख्य वक्ताको रुपमा त्रिविका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमाज्यूबाट Depoliticization of Higher Education System of Nepal प्रस्तुतीकरण गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमाले त्रिभुवन विश्वविद्यालयलाई कसरी दलिय राजनीतिकरणबाट मुक्त गराउने विषयमा धारणा व्यक्त गर्नुभएको थियो । उहाँले त्रिविको उपकुलपति रहँदा विश्वविद्यालका विभिन्न निकायहरुलाई भागवण्डाको अन्त्य गरी दक्ष प्राध्यापकहरुलाई नियुक्ती गरेको स्मरण गर्दै विश्वविद्यालयमा आलोचनात्मक क्षमता भएका प्राध्यापकहरुलाई प्रोत्साहित गर्न सुझाव दिनुभएको थियो । बार्षिक साधारण सभामा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसियशनका अध्यक्ष प्रदीप कुुमार श्रेष्ठले देश र विदेशमा समेत ख्यातिप्राप्त त्रिभुवन विश्वविद्यालयलाई गुणस्तर बनाई उच्चशिक्षाका लागि विदेश पलायन हुनुपर्ने परिस्थितिको अन्त्य गनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उच्चशिक्षाको धेरै मुलुकहरुको अर्थतन्त्रको आधारस्तम्भ भएकोले नेपाललाई उच्चशिक्षाको अन्तराष्ट्रिय आर्कषणको केन्द्र बनाउन सम्पूर्ण एलुम्नाईका सदस्यहरु एक हुनुपर्ने बताउनुभएको थियो ।
त्यसपछि विशिष्ट अतिथि त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीज्यूबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खड्ग के.सीले विश्वविद्यालयहरु देशको आर्थिक,सामाजिक र सांस्कृतिक परिस्थितिको उपज रहेकोले उपलब्ध स्रोत साधन र जनशक्तिहरुलाई समुचित प्रयोग गरी अधिकतम परिणम हासिल गर्न लागि परेको धारणा व्यक्त गर्नुभएको थियो । विश्वविद्यालयहरुमा देशको राजनीतिक प्रणाली र सामाजिक सांस्कृतिको चेतना प्रतिविम्वित हुने भएकोले पूर्णतय राजनीति मुुक्त गर्न असम्भव प्राय हुने भएपनि आफूहरुले दलियकरण र भागवण्डालाई अन्त्य गरी योग्यताप्रणाली अनुरुप जिम्मेवारी दिने बताउनुभएको थियो ।
यसैगरी त्रिभुवन विश्वविद्यालय अध्ययन गरेर देशको विभिन्न क्षेत्रमा लामो समयदेखि कार्यरत रही योगदान गर्नुहुने महानुभावहरुलाई संस्थाले सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मानीत हुनुहुने महानुभावहरुमा उच्च शिक्षाको क्षेत्रमा योगदान गर्नुहुने पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमा र उच्च शिक्षाको क्षेत्रमा तथा यस संस्थाका संस्थापक संरक्षक रही एलुम्नाई एशोसिएशन स्थापनामा समेत योगदान गर्नुहुने पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँलाई सम्मान गरिएको थियो । त्यसैगरी नीजि शिक्षाको क्षेत्रमा योगदान गर्नुहुने माननीय उमेश श्रेष्ठ, स्वास्थ्य क्षेत्रमा योगदान गर्नुहुने प्रा.डा. भगवान कोइराला, पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, पर्यटन व्यवसायको क्षेत्रमा योगदान गर्नुहुने कर्ण शाक्य, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, बैंकिङ् क्षेत्रमा योगदान गर्नुहुने उपेन्द्र पौडेल, सरकारी संस्थाको उच्च ओहदामा जिम्मेवारी पाई योगदान गर्नुहुने साल्ट ट्रेडिङ् कर्पोरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठ, कला, संस्कृति र चलचित्र क्षेत्रमा योगदान गर्नुहुने यादव खरेल र अर्थविद् एवम् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा पनि कार्यक्रममा सम्मानीत हुनुभएको छ ।
सम्मानीत व्यक्तिहरुको तर्फबाट अर्थविद् युवराज खतिवडाले मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार एवम् अर्थविद् युवराज खतिवडाले त्रिभुवन विश्वविद्याल मुलुकको प्राथमिकतामा रहेको, त्रिविमा अध्ययन गरेर आफूले अन्तराष्ट्रिय क्षेत्रमा काम गर्ने अवसर प्राप्त गरेको बताउनुभएको थियो । त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर उकास्न र स्वायत्ततालाई बाढावा दिन वित्तिय स्वाभलम्वनलाई पनि ध्यान दिन अनुरोध गर्नुभएको थियो ।
त्यसपछि कार्यक्रमलाई प्रमुख अतिथि माननीय शिक्षा, विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईज्यूले सम्बोधन गर्नुभएको थियो । बार्षिक साधारण सभालाई उद्घाटन पश्चात सम्बोधन गर्नुहुँदै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपालको सन्र्दभमा उच्चशिक्षाको पर्यायको रुपमा रहेको र हालसम्म उच्चशिक्षाको सबैभन्दा बढि दायित्व बोकिरहेकोले त्रिविको सुधार विना उच्चशिक्षाको सुधार नहुने धारणा व्यक्त गर्नुभयो । मुलुकको लागि दक्ष जनशक्ति उपलब्ध गराइरहेको त्रिविको सुधार र स्तरोन्नतीका लागि एलुम्नाई एशोसियशनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । युवामा विदेश प्रतिको मोह बढ्नुमा विश्वविद्यालयहरु मात्रै नभएर देशको सामाजिक,आर्थिक र राजनीतिक परिस्थिति निर्णायक रहेको भन्दै त्रिविलाई दलियकरण गर्नु नहुने विचार व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्रको अन्त्यमा निवर्तमान अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
वार्षिक साधारण सभाको बन्द सत्रमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका महासचिव डा. धिरज प्रधानाङ्गले र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष डा. कुश्मिला आचार्यले प्रस्तुत गर्नुभएको थियो । संस्थाको निर्देशिका संशोधन प्रस्ताव, लेखा परीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव र भावि कार्ययोजनासम्बन्धी प्रस्तावहरु बन्द सत्रमा छलफल भई निर्णय गरिएको छ । बन्द सत्रमा उठेका जिज्ञाषाहरुको जवाफ संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले दिनुभएको थियो ।
यो संस्था वि.सं. २०७४ सालमा स्थापना भएको हो । यो संस्थामा हालसम्म विभिन्न क्षेत्रमा आबद्ध ६ सय ३७ आजीवन सदस्यहरु रहेका छन् । संस्थाले देश विदेशमा रहनुहुने त्रिवि एलुम्नाईहरुलाई नेटवर्किङ् गर्दै आफुले अध्ययन गरेको विश्वविद्यालयप्रतिको अपनत्व र सहयोगी भावना जागृत गराउन निरन्तर प्रयत्न गर्दै आएको छ ।