Smriti Bhawan, TU Road, Kirtipur
त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं वार्षिक साधारण सभामा विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान गर्ने त्रिविका एलुम्नाई सदस्यहरु ११ जनालाई सम्मान गरिएको छ । त्रिभुवन विश्वविद्यालय अध्ययन गरेर देशको विभिन्न क्षेत्रमा लामो समयदेखि कार्यरत रही योगदान गर्नुहुने महानुभावहरुको ज्ञान र अनुभवलाई अरुसामू शेयर गर्न र अरुलाई पनि उत्प्रेरणा जगाउने उद्देश्यले उहाँहरुलार्य संस्थाले सम्मान गरेको हो । सम्मानीत हुनुहुने महानुभावहरुमा उच्च शिक्षाको क्षेत्रमा योगदान गर्नुहुने पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमा, उच्च शिक्षाको क्षेत्रमा तथा यस संस्थाका संस्थापक संरक्षक रही त्रिविको एलुम्नाई एशोसिएशन स्थापनामा समेत योगदान गर्नुहुने पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँ र नीजि शिक्षाको क्षेत्रमा योगदान गर्नुहुने माननीय उमेश श्रेष्ठ रहनु भएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा योगदान गर्नुहुने प्रा.डा. भगवान कोइराला, पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, पर्यटन व्यवसायको क्षेत्रमा योगदान गर्नुहुने कर्ण शाक्य, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, बैंकिङ् क्षेत्रमा योगदान गर्नुहुने उपेन्द्र पौडेल, सरकारी संस्थाको उच्च ओहदामा जिम्मेवारी पाई योगदान गर्नुहुने साल्ट ट्रेडिङ् कर्पोरेशनका महाप्रबन्धक उर्मिला श्रेष्ठ, कला, संस्कृति र चलचित्र क्षेत्रमा योगदान गर्नुहुने यादव खरेल र अर्थविद् एवम् प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा रहनु भएको छ । उहाँहरुलाई संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष प्रा.डा. सूनिती श्रेष्ठ हाडाले सम्मान गर्नुभएको थियो । सम्मानीत व्यक्तिहरुको तर्फबाट अर्थविद् युवराज खतिवडाले आफ्नो त्रिवि अध्ययन गर्दाको अनुभव र विभिन्न क्षेत्रमा कार्यरत रहँदाको अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अमुल्य समय प्रदान गर्दै संस्थाको निमन्त्रणालाई स्वीकार गरेर सहभागी हुुनुभएका प्रमुख अतिथि माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।