Smriti Bhawan, TU Road, Kirtipur
त्रिविको एलुम्नाईको नाताले एलुम्नाई एशोसिएशनमा नेतृत्व गर्न आउँदा आफुहरु लिनको लागि होइन, त्रिविलाई केहि दिनका लागि आएको एशोसिएशनका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले बताउनु भएको छ । नेपाल टेलिभिजनको शिक्षा विवेचना कार्यक्रममा प्रस्तोता रविचन्द्र पराजुलीसँग सोमवार कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो । एलुम्नाई नेटवर्कमा उद्योग वाणिज्य संघमा आबद्ध सदस्यहरुभन्दा आठ दश गुणा बढी नै सदस्यहरुको सञ्जाल रहेकोले त्रिवि एलुम्नाई नेटवर्कलाई सानो संस्था भन्न नमिल्ने आफुलाई लागेको उहाँले बताउनु भएको छ ।
एलुम्नाई एशोसिएशन विशुद्ध गैरराजनीतिक संस्था बनोस्, राजनीतिकरण नहोस् भन्ने अभिप्राय र संस्थाप्रति पवित्र सोचले काम गर्ने आफ्नो नेतृत्वसीपको कसैले मुल्याँकन गरिरहेको र यो संस्थामा पनि जिम्मेवारी दिएको उहाँले बताउनु भएको छ । त्रिवि एलुम्नाइहरु देशभित्र मात्र होइन, विदेशमा पनि छरिएर रहेका, देशभित्र पनि धेरै उच्च पोष्टहरुमा नेतृत्वमा रहेका, सबै राजनीतिक दलहरुका नेता तथा प्रधानमन्त्री, मन्त्री लगायत सबै त्रिविकै पूर्व विद्यार्थी भएकोले आफुले एलुम्नाईको लोगो अंकित पिन लगाएर उहाँहरुलाई समेत एलुम्नाइ एशोसिएशनमा सदस्य बनाउने सोच बनाएको बताउनुभयो ।
एशोसिएशनले विश्वविद्यालयको प्राज्ञिक र प्रशासनीक सुधारका लागि के सहयोग गर्छ? भन्ने प्रश्नमा उहाँले संसारमा छरिएर रहेका एलुम्नाई सदस्यहरुको पहिचान गर्ने, को के हो? कहाँ कसरी बसेको छ? उनीहरुको विशेषता के हो? उनीहरुले के कस्तो क्षेत्रमा योगदान गर्न सक्छन्? भनेर संस्थामार्फत एउटा रोस्टर सूची बनाउने आफुहरुको योजना रहेको उहाँले बताउनु भएको छ । हालै सम्पन्न पाँचौ साधारण सभामा विभिन्न क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरेको उल्लेख गर्नुहुँदै उहाँले बिसौं वर्ष त्रिवि नछिरेका व्यक्तिहरुलाई एलुम्नाई संस्थाले सम्झिएको, बोलाएकोमा उहाँहरु खुशी हुँदै त्रिविमा आउनु भएको बताउनु भयो । विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै जानुले त्रिवि प्रतिको माया मोह बढाउने, उहाँहरुले हासिल गरेको ज्ञानलाई अरुसँग शेयर गर्ने र अरुलाई पनि उत्प्रेरित गर्ने मुख्य अभिप्राय रहेको बताउनु भयो ।
त्रिवि लगायत सबै विश्वविद्यालयमा पुरानो पाठ्यक्रम परिमार्जन नभएको अवस्थामा सैद्धान्तिक पढाईभन्दा व्यवहारिक र प्रयोगात्मक अध्ययन महत्वपूर्ण हुने हुनाले समय सान्दर्भिक पाठ्यक्रम परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनु हुँदै उहाँले नेपालको शिक्षा र रोजगारदाता नीजि क्षेत्रको बीचमा समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ । शिक्षा भनेको मानवीय बौद्धिक सम्पत्ति भएकोले अरु भौतिक सम्पत्तिजस्तो नभई आफुले हासिल गरेको ज्ञान सधैंको लागि हुने धारणा व्यक्त गर्नुभएको छ । अहिले एआईको प्रयोग गर्न नसक्दा अर्बौं गुम्ने अवस्था रहेको उल्लेख गर्नुहुँदै उहाँले यसको लागि सरकारको अनुसन्धान र विकासको संयन्त्रले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ र कति जनशक्ति विश्वविद्यालयले उत्पादन गर्नुपर्ने हो भन्ने पत्ता लगाएर व्यवसायिक क्षेत्र विस्तारमा पहल गर्न सक्नुपर्ने धारणा समेत उहाँले व्यक्त गर्नुभएको छ । अहिले जति पढेका विद्यार्थीहरु छन्, उनीहरुको दक्षता र एक्सपोजरको कमि रहेको उल्लेख गर्दै उहाँले नीजि क्षेत्रले रोजगारी सिर्जना गरेर सहयोग गर्नुपर्ने भए आफुहरुले दिएको सुझावहरुलाई सरकारले सकारात्मक रुपमा हेर्नुपर्ने बताउनु भयो । रेमिट्यान्स मात्र देशको समस्याको समाधान नहुने उल्लेख गर्नुहुँदै उहाँले अहिले देशमा मुख्य दुई कारणले क्षमतावान् युवाहरु बिदेशिनु परिरहेको उल्लेख गर्नुहुँदै पहिलो युवा पुस्तालाई परिवारले नै विदेश पठाउने र दोस्रो विदेशमा हुने आफन्तले विदेशबाटै तान्ने अवस्था कारण रहेको बताउनु भयो । यसले गर्दा तीक्ष्ण क्षमता भएका योग्य युवाहरु विदेशि भुमिमा पुगेको र भोलिका दिनमा युवाशक्ति विदेशबाट खोजेर ल्याउनुपर्ने अवस्था आउन सक्नेबारे सबैले सचेत भएर सोच्नुपर्ने तर यसको समाधानका लागि युवालाई विदेशिनबाट रोक्ने योजना ल्याउने सबैभन्दा बढी जिम्मेवारी सरकारको हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेपालको अर्थतन्त्र खासै राम्रो नरहेको, रोजगारी सिर्जना गर्न नसकेको र अर्थतन्त्र परनिर्भर अवस्थामा रहेको हुँदा अहिलेको अवस्थामा नयाँ ढँगले नेपालले धेरै कुराहरु गर्न सक्ने बताउनुहुँदै उहाँले भारतमा विभिन्न क्षेत्रका पहाडहरुमा बाटो र स्कूलहरु खोलेर पर्यटनको केन्द्र बनाएर विकास भएको उदाहरण रहेको उल्लेख गर्नुहुँदै त्यसलाई सकारात्मक सिकाई गर्दै नेपाल सरकारले पनि सम्भावित पहाडि क्षेत्रहरु पहिचान गरेर सरकारले त्यो वातावरण बनाउन सके विदेशी पर्यटकहरुलाई विभिन्न स्किममा आमन्त्रण गर्न सक्ने र पर्यटन प्रबद्र्धन र विकासमा कार्य गर्न सक्ने धारणा समेत उहाँले व्यक्त गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय विश्वकै ठुला विश्वविद्यालयहरुको सूचीमा पर्ने उल्लेख गर्नुहूँदै उहाँले त्रिविमा पढाई नराम्रो भन्दा पनि पढाई गर्ने अवस्था, शैक्षिक पूर्वाधार, सुरक्षा अनुभुति र विश्वासनीयतामा समस्या रहेको उल्लेख गर्नुहुँदै अविश्वासको खाडल धेरै रहेको आफुले पाएको बताउनु भयो । त्यस्तै यसमा एलुम्नाई एशोसिएशनमार्फत विस्वासिलो सोच ल्याउनको लागि आफुहरुले पहल गर्ने हुनाले आफ्नो नेतृत्वको टिम लिन भनेर गएको नभई केहि दिनकै लागि भनेर गएको हुँदा यसलाई सबैले सकारात्मक तरिकाले हेरिदिन उहाँले आग्रह गर्नुभएको छ । एशोसिएशनमा विभिन्न उपसमितिहरु रहेकोले ती उपसमितिहरुबाट प्राप्त सूझावहरुलाई शिक्षा मन्त्रालय र त्रिवि नेतृत्व उपकुलपतिसमक्ष समेत सुझावहरु पेश गर्ने योजना रहेको उहाँले बताउनु भएको छ । आफुले व्यवस्ताका बीच पनि नेतृत्वमा आएर एउटा सिस्टम बनाएर बाटो बनाउने काम गरेको छु । गाडी दौडाउने काम भावि नेतृत्वले अगाडि बढाउनु हुने अपेक्षा उहाँले गर्नुभएको छ ।
विस्तृत अन्तरवार्ता सुन्न यहाँ क्लिक गर्नुहोस् ।